चित्रकला, साहित्य र प्याराग्लाडिङ् एकै साथ

630

प्रमोद अर्याल हेटौंडा, २१ भदौः ऐतिहासिक मकवानपुर गढीको डाडाबाट केही मानिसहरु प्याराग्लाडिङ् उडाइरहन्छन् र मकवानपुरको आकाशमा पहिलो पटक प्याराग्लाइडिङ् उड्दै हुनेछ । साथमा चित्रकला र साहित्यको अनुपम संगम पनि भेटिन्छ । असोज १ गते हर्नामाडी क्षेत्रमा देखिने दृश्यले सबैलाई लोभ्याउनेछ । हर्नामाडीमा रहेको मूर्तिकला पार्कलाई अझै सुन्दर बनाउने प्रयाससगै मकवानपुरको पर्यटनका लागि नया सम्भावनाका परीक्षण उडान असोज १ गते हुनेछ । हर्नामाडी कला प्रतिष्ठानले असोज १ गतेबाट चित्रकला, साहित्य र प्याराग्लाडिङ् एकै साथ गर्ने भएको छ ।

प्रारम्भमा चित्रकला कार्यशाला मात्रै गर्ने भनिएकोमा अहिले पर्यटनको नया सम्भावना प्याराग्लाइडिङ्को परीक्षण उडानका लागि पनि हर्नामाडी कला प्रतिष्ठान तयार रहेको छ । सोमबार जिल्ला विकास समितिको सभाहलमा प्रतिष्ठानले आफ्नो तयारी, योजना र अपेक्षाका विषयमा छलफल आयोजना गयो । छलफलमा सहभागि राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, उद्योग वाणिज्य संघ, होटल एशोसियनलगायत सरकारी तथा गैरसरकारी निकायको प्रमुख तथा प्रतिनिधिहरुले हर्नामाडी कला प्रतिष्ठानको यो प्रयासलाई सकारात्मक रुपमा ग्रहण गर्दै सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

हर्नामाडी कला प्रतिष्ठानले असोज १ गतेदेखि आयोजना हुने चित्रकला कार्यशालामा सहभागी कलाकारहरुको नाम समेत सार्वजनिक गरेको छ । ४ जना विदेशी र ३० जना स्वदेशी चित्रकार र १४ जना साहित्यकारहरु सहभागी हुने आयोजक हर्नामाडी कला प्रतिष्ठानले जनाएको छ । २५ जना चित्रकार र १० जना साहित्यकार हर्नामाडी भियाउने प्रतिष्ठानको योजना रहेको छ । जसमा ३/३ जना स्थानीय कलाकार र साहित्यकारले सहभागिता जनाउनेछन् । शशि विक्रम शाह, मनुजबाबु मिश्र, वत्स गोपाल बैद्य, कृष्ण मानन्धर, दुर्गा बराल ‘वात्सायन’, श्यामलाल श्रेष्ठ, कर्ण मास्के, नविन्द्रराज भण्डारी, मुकेश श्रेष्ठ, लक्ष्मण भुजेललगायत कलाकारहरुले हर्नामाडीमा चित्र बनाउनेछन् । विदेशी चित्रकारहरुमा चीनका डा. जियाङ याङ निग्मा, बेलायतका मार्टिन बेञ्जामिन ट्राभर्स, बंग्लादेशका इमरान हुसेन पिप्लु र भारतका सुरेश के नायर सहभागी हुने आयोजकले जनाएको छ । वरिष्ठ गीतकार दुर्गालाल श्रेष्ठ, साहित्यकार प्राध्यापक डा. अभि सुवेदी, आहुति, श्रवण मुकारुङ, मनु मञ्जील, सरिता तिवारी, सीमा आभास, सरस्वती प्रतीक्षा, निभा साह, विनोदविक्रम केसीलगायत कविहरु हर्नामाडी ल्याउने प्रस्ताव प्रतिष्ठानले गरेको छ । असोज १ गतेदेखि ५ गतेसम्म कलाकारहरुले गुम्बाडाडामा रहेको मूर्तिकला पार्कमा स्वतन्त्र ढङ्गले चित्र बनाउने भएका छन् । कम्तिमा १० जना साहित्यकारहरुले उनीहरुसगै काव्य रचना गर्नेछन् ।

प्याराग्लाडिङ्का लागि पनि अध्ययन भइसकेको प्रतिष्ठानले जनाएको छ । ‘गढीबाट उडेको प्याराग्लाडिङ् गुम्बाडाडा झारिनेछ,’ हर्नामाडी कला प्रतिष्ठानका डा. तारालाल श्रेष्ठले भन्नुभयो, ‘मकवानपुरमा पहिलो पटक परीक्षणको रुपमा प्याराग्लाईडिङ् उड्नेछ । यसको सम्पूर्ण अध्ययन भइसकेको छ । विज्ञ पाइलटहरुले प्याराग्लाइडिङ् गर्नेछन् । यो मकवानपुरको पर्यटनको नया सम्भावना पनि हो ।’ प्याराग्लाइडिङ्का लागि पोखराबाट संघर्ष विष्ट र नारायण पराजुलीको नेतृत्वमा ७ देखि १० जनाको टोली मकवानपुर आउनेछ ।

यसैबीच सोमबार भएको छलफल कार्यक्रममा सहभागिहरुले कार्यशालाका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । छलफलबाट आर्थिक र सल्लाहकार समिति प्रस्ताव भएको छ । आर्थिक समिति जिल्ला विकास समिति, हेटौंडा उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, होटल एशोसियसन, नारायणी यातायात व्यवसायि संघलगायत रहने प्रस्ताव गरिएको छ । त्यस्तै सल्लाहकार समितिमा जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख वा प्रतिनिधि र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु प्रस्ताव गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here