कलामय हर्नामाडी, अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला

747

हर्नामाडी (मकवानपुर) — चार वर्षअघि अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाले खबरमा छाएको मकवानपुरको हर्नामाडी गुम्बाडाँडामा शनिबारदेखि अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला सुरु भएको छ ।

चीन, भारत, बंगलादेश र बेलायतका चारसहित ३३ ख्यातिप्राप्त चित्रकार सहभागी रहेको कार्यशालाको प्रजिअ डा. मानबहादुर बीके, बंगलादेशकी ख्यातिप्राप्त चित्रकार फहमिदा इनाम काकोली, चन्दा श्रेष्ठले क्यानभासमा चित्र कोरेर उद्घाटन गरेका थिए । 
वरिष्ठ चित्रकार गोविन्दराज डंगोल, भारतीय चित्रकार सुरेश के नायर, नेपालका लक्ष्मण भुजेललगायतले चित्रकला कार्यशालाबारे प्रकाश पारे । ‘अन्तर्राष्ट्रिय ख्यातिप्राप्त चित्रकारहरूलाई एकै स्थानमा भेला गरेर चित्र बनाउन लगाएको नेपालमा नै यो पहिलो हो, वरिष्ठ चित्रकार केके कर्माचार्यले भने, ‘यस्तो कार्यशालाले चित्रकारहरूको ऊर्जा बढाउँछ ।’ हेटौंडा बजारबाट १८ किलोमिटरको दूरीमा रहेको हर्नामाडीमा चार वर्षअघिको मंसिरमा १५ दिने अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला गरिएको थियो । 
असोज ५ सम्म सञ्चालन हुने कार्यशालामा भने चार विदेशीसहित अन्तर्राष्ट्रियस्तरका ३३ चित्रकारहरू रहेको आयोजक डा. तारालाल श्रेष्ठले बताए । ५ दिनसम्म चित्रकारहरू गुम्बाडाँडामा नै बसेर क्यानभासमा मूर्त र अमूर्त दुवै खाले चित्र बनाउने उनले बताए । कार्यशालामा कोरिएका चित्रहरू गुम्बाडाँडामा नै व्यवस्थित राखिनेछन् । कार्यशालामा चीनबाट डा. जियाङ याङ निग्मा, भारतबाट सुरेश के नायर, बंगलादेशबाट फहमिदा इनाम काकोली, ल बेलायतबाट मार्टिन बेन्जामिन ट्राभर्स सहभागी भएका छन् । यसैगरी नेपालका शशिविक्रम शाह, वीरेन्द्रप्रताप सिंह, वत्स गोपाल वैद्य, कृष्ण मानन्धर, अशोकमान सिंह, शरद रञ्जित, जीवन राजोपाध्याय, बुद्धि गुरुङ, केके कर्माचार्य, श्यामलाल श्रेष्ठ, शंकरराज सिंह सुवाल, गोविन्द सिंह डंगोल, उमाशंकर शाह, नविन्द्रराज भण्डारी, गौतम मानन्धर, उत्तम खरेल, मदन चित्रकार, चन्दा श्रेष्ठ, सुनीता राणा, सरोज बज्राचार्य, मुकेश श्रेष्ठ, लक्ष्मण भुजेल, सुरेन्द्र प्रधान, सीतादेवी कर्ण र राधेश्याम मुल्मी हर्नामाडीमा चित्र कोर्न आएका छन् ।
चार वर्षअघि मूर्तिकला कार्यशाला गरिएको गुम्बाडाँडामा मूर्तिबगैंचा क्षेत्रमै कलाकारले खुलारूपमा आफ्नो अनुकूलको स्थान रोजेर चित्र कोरिरहेका छन् । कार्यशालाको डकुमेन्ट्री निर्माण गर्ने छायाङन समूह पनि तयार पारिएको छ । हर्नामाडी कला प्रतिष्ठानले हर्नामाडी हुँदै समग्र जिल्लालाई नै कलाको जिल्लाको रूपमा स्थापित गर्ने योजनाअनुसार यस पटक कार्यशाला आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष रम्तेलले भने ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here